काठमाडौं :मिस मंगोल नेपाल २०२२ को उपाधि सिन्धुपाल्चोककी पासाङ डोल्मा शेर्पाले जितेकी छ । अघिल्लो संस्करणमा उत्कृष्ट ५ मा परेकी २४ वर्षीया शेर्पाले दोस्रो प्रयासमा मिस ट्यालेन्टसहित शीर्ष उपाधि चुम्न सफल भएकी हुन् । ‘दोस्रो प्रयासमा मेरो सपना र मेहनत साकार भएको छ’, ताज पहिरिएपछि पासाङले भनिन् ।
प्रतियोगितामा कैलालीकी २५ वर्षीया दीपिका थापामगर फस्ट रनरअप घोषित भइन् भने उनलाई पछ्याउँदै सोलुखुम्बुकी १८ वर्षीया डोल्मा छिरिङ शेर्पा मिस न्यु प्लास्टसहित सेकेन्ड रनरअप जित्न सफल भइन् । उनीहरूलाई गत वर्षका विजेता, फस्ट र सेकेन्ड रनरअप क्रमशः एप्रिला घिसिङ, प्रिया मादेन र विभिषिका श्रेष्ठले ताज लगाइदिएका थिए ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा पाँचथरकी २१ वर्षीया ममता आङ्बो मिस मंगोल प्रोभिन्स वान, पर्साकी १६ वर्षीया एसेन्ला घले मिस मंगोल मधेस, काठमाडौंकी २३ वर्षीया प्रार्थना शाही मिस मंगोल बागमती, पोखराकी २५ वर्षीया प्रिसिला गुरुङ मिस मंगोल गण्डकी र दाङकी २६ वर्षीया मुना बुढामगर मिस मंगोल लुम्बिनी घोषित भए । मिस मंगोल सुदूरपश्चिमको उपाधि फस्ट रनरअप दीपिका थापामगरले हात पार्न सफल भइन् ।
रिडी ग्रुप लिमिटेडको शीर्ष प्रायोजनमा भएको प्रतियोगितामा रोजिन शाक्यको कोरियोग्राफी रहेको थियो भने मिस मंगोल नेपाल २०१९ सिभिरा लामा कोचका रूपमा रहेकी थिइन् । कार्यक्रममा मन्त्री श्रेष्ठले मिस मंगोलका टेक्निकल हेड एवं भिडियो निर्देशक विज्ञान राई र ग्राफिक डिजाइनर विवेक श्रेष्ठलाई सम्मान प्रदान गरेका थिए । ‘हाम्रो भाषा, भेषभूषा र संस्कृतिसँग जोडेर आयोजना हुने यस प्रकारका प्रतियोगिता नयाँ पुस्ताका लागि राम्रो प्लेटफर्म हो’, मन्त्री श्रेष्ठले भने, ‘प्रतिभावान् नयाँ पुस्ताले यस्ता प्लेटफर्मको सदुपयोग गर्न सक्नुपर्छ ।’
प्रतियोगितामा प्राज्ञ प्रदीप बोम्जन, नेपाल एड्मिनिस्ट्रेसन स्टाफ कलेजका डेपुटी डाइरेक्टर शिवहरि अधिकारी, प्याब्सन काठमाडौंका पूर्वअध्यक्ष हरिकृष्ण श्रेष्ठ, रंगकर्मी एवं अभिनेता पुष्कर गुरुङ, पपगायक धीरज राई, मिस मंगोल नेपाल २०१७ अनिता लामा र आदिवासी जनजाति चलचित्र महासंघको उपाध्यक्ष एवं डान्सिङ स्टार नेपालकी विजेता छिरिङ शेर्पा निर्णायक मण्डलमा रहेका थिए । मिस मंगोल नेपालको यो १३औं संस्करण हो ।
 
                                         
                                         
                                         
                                         
                                         
    











 
	



