१५औं वर्ष मनाउँदै मिस मंगोल नेपाल
मौलिक संस्कृति, सभ्यता, पहिचान र नयाँपुस्ताको करियर निर्माणलाई आधार बनाएर आयोजना हुँदै आएको मिस मंगोल नेपालको १५औं संस्करण सुरुभएको छ। २०८२ पुस १२ गते काठमाडौंमा हुने मिस मंगोल नेपाल २०२५ को लागि आवेदन फारम खुलिसकेको छ। एक्सन इन्टरटेनमेन्टको कार्यालय रामशाहपथ काठमाडौंबाट आवेदन फारम लिन वा missmongolnepal.com मा गई अनलाइन फारम भर्न पनि सकिने छ। धरान र काठमाडौंमा अडिसन हुने यस प्रतियोगिताका सहभागीलाई मंसिर २० गते (डिसेम्बर ६) देखी प्रशिक्षण सत्रमा सहभागी गराइने छ।
न्यूनतम आवश्यकता:
घटीमा एसईई पास, ५ फिट उचाइ, १६ देखी २८ वर्ष उमेर समूहका अविवाहित आदिवासी जनजाती समुदायका युवतीले यस प्रतियोगितामा भाग लिन सक्ने छन्। विभिन्न प्रतियोगितामा सहभागी भई शीर्ष उपाधि विजेताले अडिसन बिनै सहभागी हुन पाउने छन्।
प्रशिक्षण:
प्रशिक्षणका क्रममा प्रतियोगितासँग सम्बन्धित विभिन्न विषयका साथै मौलिक संस्कृति, सभ्यता, पहिचान, युवापुस्ताको करियर निर्माण, व्यक्तित्व विकास, नेतृत्वदायी भूमिका निर्वाह, आत्मविश्वास, अनुशासन, जनमानस एवं मेडियालाई फेस गर्ने कला, आफूमा लुकेका प्रतिभा प्रस्फुटनलगायत विभिन्न विषयमा जानकारीमूलक कक्षा दिइने छ। त्यस्तै विभिन्न सेलिब्रेटी, विशेषज्ञ, यसअघिका प्रतियोगी, विजेतासँग अनुभव आदानप्रदान, भ्रमणलगायत विभिन्न बौद्धिक गतिविधिमा सहभागी गराइने छ।
१० जनालाई ताज:
मिस मंगोल नेपाल मुलुकको संघीय संरचनाअनुसार आयोजना हुँदै आएको छ। मिस मंगोल कोशी, मिस मंगोल मधेश, मिस मंगोल बागमती, मिस मंगोल गण्डकी, मिस मंगोल लुम्बिनी, मिस मंगोल गण्डकी र मिस मंगोल सुदूरपश्चिम गरी सातवटै प्रदेशका उत्कृष्ट एकएकजना प्रतियोगीले प्रदेश विजेताका रुपमा ताज पाउने छन्। सबै प्रदेशमध्येबाट मिस मंगोल नेपाल विजेता, फस्ट रनरअप र सेकेन्ड रनरअप गरी १० जनाले ताज पाउने छन्। प्रदेशका विजेतालाई सबटाइटल मानिएकाले प्रदेश टाइटल विजेताले मिस मंगोल नेपाल, फस्ट रनरअप वा सेकेन्ड रनरअपको उपाधि पनि पाउन सक्ने छन्।
१५औं वर्ष मनाउँदै मिस मंगोल नेपाल:
मिस मंगोल नेपालको यो १५औं संस्करण हो। यस संस्करणलाई नयाँ पद्धती र शैलीका साथ सांस्कृतिक महोत्सवका रुपमा आयोजना गरिँदै छ। जसले यस प्रतियोगिताको गरिमालाई अझ उचाईमा पु¥याउनुका साथै संस्कृति र सभ्यताको उन्नयनमा समेत टेवा पु¥याउने विश्वास गरिएको छ।
नेपाल आदिवासी जनजाती महासंघको अभिभावकत्व:
मिस मंगोल नेपाल गतवर्षदेखी नेपाल आदिवासी जनजाती महासंघको अभिभावकत्वमा आयोजना हुँदै आएको छ। महासंघले मिस मंगोलका विजेता, फस्ट रनरअप र सेकेन्ड रनरअपलाई सद्भावना दुतका रुपमा नियुक्त गर्न थालेको छ। मिस मंगोल नेपाल सुरुदेखी नै संस्कृति, पहिचान र प्रतिभाको सम्मानका लागि आयोजना हुँदै आएकाले महासंघको अभिभावकत्व र सहकार्यले यस प्रतियोगितालाई अझ उचाईमा पु¥याउने विश्वास गरिएको छ।
पुरस्कार, सुविधा र शुल्क:
मिस मंगोल नेपालको विजेताले एक लाख रुपैयाँ वा स्कुटर, फस्ट र सेकेन्ड रनरअपले क्रमशः ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँ नगद पुरस्कारसहित चाँदीको ताज, थाइल्याण्ड प्याकेज टुर, विभिन्न उत्पादन तथा कम्पनीको ब्रान्ड एम्बेसडर बन्ने मौका पाउने छन्। त्यसैगरी ‘पब्लिक च्वाइस’ उपाधि विजेताले २५ हजार रुपैयाँ पुरस्कारसहित थाइल्याण्ड प्याकेज टुर पनि प्राप्त गर्ने छ। प्रतियोगितामा सहभागी सबैलाई फाइनलका लागि पोसाक, टोकन अफ लभ, लेटर अफ एप्रिसिएसन, प्रतियोगिताको भिडियो सेट, फोटो सुट, मेकअप, हेयर ड्रेसिङलगायत विभिन्न सेवा आयोजकले नै उपलब्ध गराउने छ। प्रतियोगीलाई यी सबै सुविधा अर्थात् सम्पूर्ण कार्यक्रमका लागि २० हजार रुपैयाँ शुल्क लाग्ने छ।
आवेदन फारमका लागि:
एक्सन इन्टरटेनमेन्ट, काठमाडौं
फोन: ९८१३६०९५८५, ९८०१०९७५५६
मिस मंगोल नेपाल: संस्कृति र प्रतिभाको सम्मान
सन् २००९ देखि निरन्तर आयोजना हुँदै आएको मिस मंगोल नेपाल रूपमा सौन्दर्य प्रतियोगिता भए पनि सारमा एउटा सांस्कृतिक अभियान हो। नयाँपुस्तामा निहित प्रतिभा प्रस्फुटन, व्यक्तित्व विकास, नेतृत्वदायी भूमिका निर्वाह, नारी सशक्तीकरण, सांस्कृतिक संरक्षण एवं जागरण तथा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना हुँदै आएको छ।
एक्सन इन्टरटेनमेन्टले आयोजना गर्दै आएको यस प्रतियोगितामार्फत देशभरका सयौं प्रतिभावान युवतीले आफ्नो वृत्ति विकास गर्दै आएका छन्। पाइलट, डाक्टर, इन्जिनियरजस्ता विशिष्ट विधादेखि अभिनेत्री, गायिका, नर्स, एअर होस्टेज, मोडेललगायत विभिन्न क्षेत्रमा स्थापित युवतीहरूको सहभागिताले मिस मंगोल नेपाललाई अझ प्रतिष्ठित र गरिमामय बनाएको छ।
यो प्रतियोगिता पछिल्लो समय नेपालको संघीय संरचनाअनुसार आयोजना हुँदै आएको छ। जसअनुसार सहभागीमध्ये सातै प्रदेशबाट एकएकजना विजेता र सबै प्रदेशबाट उत्कृष्टताका आधारमा विजेता, फस्ट रनरअप र सेकेन्ड रनरअप छनोट हुने गरेका छन्। प्रादेशिक हिसावले सातजनासहित विजेता, फस्ट र सेकेन्ड रनरअप तीनजना गरी एकै पटक १० जनाले ताज र जिम्मेवारी पाउने गरेका छन्।
सौन्दर्य प्रतियोगिताप्रति युवापुस्तामा देखिएको रुचि र रहरमा मौलिक कला, भाषा, खानपान, गरगहना, रहनसहन, भेषभूषा एवं मौलिक संस्कृतिलाई फ्युजन गराउन सक्यो भने यसले एकातिर युवाको चाहनालाई सम्बोधन गर्छ भने अर्कोतर्फ संस्कृति संरक्षण र सांस्कृतिक चेतनालाई उर्वर बनाइदिन्छ। मिस मंगोल नेपालको अर्को लक्ष्य र उद्देश्य यो पनि हो।




