दोस्रो प्रयासमा पासाङलाई उपाधि

काठमाडौं :  मिस मंगोल नेपाल २०२२ को उपाधि सिन्धुपाल्चोककी पासाङ डोल्मा शेर्पाले जितेकी छ । अघिल्लो संस्करणमा उत्कृष्ट ५ मा परेकी २४ वर्षीया शेर्पाले दोस्रो प्रयासमा मिस ट्यालेन्टसहित शीर्ष उपाधि चुम्न सफल भएकी हुन् । ‘दोस्रो प्रयासमा मेरो सपना र मेहनत साकार भएको छ’, ताज पहिरिएपछि पासाङले भनिन् ।

प्रतियोगितामा कैलालीकी २५ वर्षीया दीपिका थापामगर फस्ट रनरअप घोषित भइन् भने उनलाई पछ्याउँदै सोलुखुम्बुकी १८ वर्षीया डोल्मा छिरिङ शेर्पा मिस न्यु प्लास्टसहित सेकेन्ड रनरअप जित्न सफल भइन् । उनीहरूलाई गत वर्षका विजेता, फस्ट र सेकेन्ड रनरअप क्रमशः एप्रिला घिसिङ, प्रिया मादेन र विभिषिका श्रेष्ठले ताज लगाइदिएका थिए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा पाँचथरकी २१ वर्षीया ममता आङ्बो मिस मंगोल प्रोभिन्स वान, पर्साकी १६ वर्षीया एसेन्ला घले मिस मंगोल मधेस, काठमाडौंकी २३ वर्षीया प्रार्थना शाही मिस मंगोल बागमती, पोखराकी २५ वर्षीया प्रिसिला गुरुङ मिस मंगोल गण्डकी र दाङकी २६ वर्षीया मुना बुढामगर मिस मंगोल लुम्बिनी घोषित भए । मिस मंगोल सुदूरपश्चिमको उपाधि फस्ट रनरअप दीपिका थापामगरले हात पार्न सफल भइन् ।

रिडी ग्रुप लिमिटेडको शीर्ष प्रायोजनमा भएको प्रतियोगितामा रोजिन शाक्यको कोरियोग्राफी रहेको थियो भने मिस मंगोल नेपाल २०१९ सिभिरा लामा कोचका रूपमा रहेकी थिइन् । कार्यक्रममा मन्त्री श्रेष्ठले मिस मंगोलका टेक्निकल हेड एवं भिडियो निर्देशक विज्ञान राई र ग्राफिक डिजाइनर विवेक श्रेष्ठलाई सम्मान प्रदान गरेका थिए । ‘हाम्रो भाषा, भेषभूषा र संस्कृतिसँग जोडेर आयोजना हुने यस प्रकारका प्रतियोगिता नयाँ पुस्ताका लागि राम्रो प्लेटफर्म हो’, मन्त्री श्रेष्ठले भने, ‘प्रतिभावान् नयाँ पुस्ताले यस्ता प्लेटफर्मको सदुपयोग गर्न सक्नुपर्छ ।’

प्रतियोगितामा प्राज्ञ प्रदीप बोम्जन, नेपाल एड्मिनिस्ट्रेसन स्टाफ कलेजका डेपुटी डाइरेक्टर शिवहरि अधिकारी, प्याब्सन काठमाडौंका पूर्वअध्यक्ष हरिकृष्ण श्रेष्ठ, रंगकर्मी एवं अभिनेता पुष्कर गुरुङ, पपगायक धीरज राई, मिस मंगोल नेपाल २०१७ अनिता लामा र आदिवासी जनजाति चलचित्र महासंघको उपाध्यक्ष एवं डान्सिङ स्टार नेपालकी विजेता छिरिङ शेर्पा निर्णायक मण्डलमा रहेका थिए । मिस मंगोल नेपालको यो १३औं संस्करण हो ।

मिस मंगोल नेपाल: संस्कृति र प्रतिभाको सम्मान

सन् २००९ देखि निरन्तर आयोजना हुँदै आएको मिस मंगोल नेपाल रूपमा सौन्दर्य प्रतियोगिता भए पनि सारमा एउटा सांस्कृतिक अभियान हो। नयाँपुस्तामा निहित प्रतिभा प्रस्फुटन, व्यक्तित्व विकास, नेतृत्वदायी भूमिका निर्वाह, नारी सशक्तीकरण, सांस्कृतिक संरक्षण एवं जागरण तथा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना हुँदै आएको छ।

एक्सन इन्टरटेनमेन्टले आयोजना गर्दै आएको यस प्रतियोगितामार्फत देशभरका सयौं प्रतिभावान युवतीले आफ्नो वृत्ति विकास गर्दै आएका छन्। पाइलट, डाक्टर, इन्जिनियरजस्ता विशिष्ट विधादेखि अभिनेत्री, गायिका, नर्स, एअर होस्टेज, मोडेललगायत विभिन्न क्षेत्रमा स्थापित युवतीहरूको सहभागिताले मिस मंगोल नेपाललाई अझ प्रतिष्ठित र गरिमामय बनाएको छ।

यो प्रतियोगिता पछिल्लो समय नेपालको संघीय संरचनाअनुसार आयोजना हुँदै आएको छ। जसअनुसार सहभागीमध्ये सातै प्रदेशबाट एकएकजना विजेता र सबै प्रदेशबाट उत्कृष्टताका आधारमा विजेता, फस्ट रनरअप र सेकेन्ड रनरअप छनोट हुने गरेका छन्। प्रादेशिक हिसावले सातजनासहित विजेता, फस्ट र सेकेन्ड रनरअप तीनजना गरी एकै पटक १० जनाले ताज र जिम्मेवारी पाउने गरेका छन्।

सौन्दर्य प्रतियोगिताप्रति युवापुस्तामा देखिएको रुचि र रहरमा मौलिक कला, भाषा, खानपान, गरगहना, रहनसहन, भेषभूषा एवं मौलिक संस्कृतिलाई फ्युजन गराउन सक्यो भने यसले एकातिर युवाको चाहनालाई सम्बोधन गर्छ भने अर्कोतर्फ संस्कृति संरक्षण र सांस्कृतिक चेतनालाई उर्वर बनाइदिन्छ। मिस मंगोल नेपालको अर्को लक्ष्य र उद्देश्य यो पनि हो।