मिस मंगोल नेपाल– २०२४ को तयारी सुरु

काठमाडौं : संस्कृति र प्रतिभाको सम्मानका लागि मिस मंगोल नेपालको भव्य र रोमाञ्चकारी संस्करणको तयारी सुरु भएको छ । २०८१ असार ८ (जुन-२२, २०२४)मा हुने यस प्रतियोगिताका लागि आवेदन फारम खुला गरिएको हो । काठमाडौं, धरान, पोखरालगायत विभिन्न स्थानमा रहेका सम्पर्क कार्यालयबाट आवेदन फारम लिन वा www.missmongolnepal.com मा गई अनलाइन फारम भर्न पनि सकिन्छ ।

कार्यक्रम तालिका :

मिस मंगोल नेपालको प्रशिक्षण २०८१ जेठ १९ गतेबाट काठमाडौंमा सुरु हुनेछ । त्यसअघि सबै क्षेत्र (सातै प्रदेश) र समुदाय (सकेसम्म सबै जाति) पर्ने गरी प्राथमिकताका आधारमा आन्तरिक छनोटबाट प्रतियोगीहरूको चयन गरिनेछ । प्रतियोगिताको ग्राण्ड फिनाले २०८१ असार ८ (जुन-२२, २०२४)मा काठमाडौंमा हुनेछ ।

न्युनतम आवश्यकता :

मिस मंगोल नेपालमा सहभागी हुन घटीमा एसईई पास, अविवाहित, मंगोल समुदाय (आदिवासी जनजाति), १६ देखि २८ वर्ष उमेरसमूह र ५ फिट उचाइ हुनुपर्ने प्रावधान राखिएको छ ।

प्रशिक्षण विधि :

प्रशिक्षणका क्रममा प्रतियोगितासँग सम्बन्धित विभिन्न विषयका साथै व्यक्तित्व विकास, नेतृत्वदायी भूमिका निर्वाह, आत्मविश्वास, अनुशासन, जनमानस एवं मेडियालाई फेस गर्ने कला, आफूमा लुकेका प्रतिभा प्रस्फुटनलगायत विभिन्न विषयका जानकारीमूलक कक्षा सञ्चालन गरिनेछ । त्यस्तै, विभिन्न सेलिब्रेटी, विशेषज्ञ, यसअघिका प्रतियोगी, विजेतासँग अनुभव आदानप्रदान, भ्रमणलगायत विभिन्न बौद्धिक गतिविधिमा सहभागी गराइनेछ ।

पुरस्कार एवं सुविधा :

मिस मंगोल नेपालको विजेताले एक लाख रुपैयाँ, फस्ट र सेकेन्ड रनरअपले क्रमशः ५० हजार रुपैयाँ र २५ हजार रुपैयाँ नगद पुरस्कारसहित चाँदीको ताज, थाइल्यान्ड प्याकेज टुर, स्नातक तह अध्ययनका लागि छात्रवृत्ति, विभिन्न उत्पादन तथा कम्पनी (प्रायोजकहरू)को ब्रान्ड एम्बेसडर बन्ने मौका प्रदान गरिनेछ  । प्रतियोगितामा सहभागी सबै प्रतियोगीलाई लेटर अफ एप्रिसएसन, टोकन अफ लभ, प्रतियोगिताको भिडियो सेट, फोटो सुट, फाइनलका लागि पोसाक, मेकअप, हेयर ड्रेसिङजस्ता विभिन्न सेवा तथा सुविधा निःशुल्क उपलब्ध गराइनेछ ।

१० जनालाई ताज :

मिस मंगोल नेपाल मुलुकको संघीय संरचनाअनुसार आयोजना हुँदै आएको छ । मिस मंगोल प्रदेश एक, मिस मंगोल मधेस, मिस मंगोल बागमती, मिस मंगोल गण्डकी, मिस मंगोल लुम्बिनी, मिस मंगोल गण्डकी र मिस मंगोल सुदूरपश्चिम गरी सातवटै प्रदेशका एकएकजना उत्कृष्ट प्रतियोगीले ताज पाउनेछन् । सबै प्रदेशमध्येबाट मिस मंगोल नेपाल विजेता, फस्ट रनरअप र सेकेन्ड रनरअप गरी १० जनाले ताज पाउनेछन् । प्रदेशका विजेतालाई सबटाइटल मानिएकाले प्रदेश टाइटल विजेताले मिस मंगोल नेपाल, फस्ट रनरअप वा सेकेन्ड रनरअपको उपाधि पनि पाउन सक्नेछन् ।

शुल्क :

प्रतियोगितामा सहभागी हुन आवेदन फारम भर्नेमध्ये अन्तिम प्रतिष्पर्धाका लागि छनोट भएका प्रतियोगीका लागि जम्मा १५ हजार रुपैयाँ शुल्क लाग्नेछ । १५ हजार रुपैयाँबाहेक अन्य कुनै शुल्क एवं खर्च लाग्दैन । प्रतियोगिताका लागि आवश्यक पोषाक, फोटोसुट, मेकअप, हेयर स्टाइल, भ्रमणलगायत प्रशिक्षण अवधीभरका अन्य खर्च आयोजकले व्यहोर्नेछ ।

 

मिस मंगोल नेपाल: संस्कृति र प्रतिभाको सम्मान

सन् २००९ देखि निरन्तर आयोजना हुँदै आएको मिस मंगोल नेपाल रूपमा सौन्दर्य प्रतियोगिता भए पनि सारमा एउटा सांस्कृतिक अभियान हो। नयाँपुस्तामा निहित प्रतिभा प्रस्फुटन, व्यक्तित्व विकास, नेतृत्वदायी भूमिका निर्वाह, नारी सशक्तीकरण, सांस्कृतिक संरक्षण एवं जागरण तथा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना हुँदै आएको छ।

एक्सन इन्टरटेनमेन्टले आयोजना गर्दै आएको यस प्रतियोगितामार्फत देशभरका सयौं प्रतिभावान युवतीले आफ्नो वृत्ति विकास गर्दै आएका छन्। पाइलट, डाक्टर, इन्जिनियरजस्ता विशिष्ट विधादेखि अभिनेत्री, गायिका, नर्स, एअर होस्टेज, मोडेललगायत विभिन्न क्षेत्रमा स्थापित युवतीहरूको सहभागिताले मिस मंगोल नेपाललाई अझ प्रतिष्ठित र गरिमामय बनाएको छ।

यो प्रतियोगिता पछिल्लो समय नेपालको संघीय संरचनाअनुसार आयोजना हुँदै आएको छ। जसअनुसार सहभागीमध्ये सातै प्रदेशबाट एकएकजना विजेता र सबै प्रदेशबाट उत्कृष्टताका आधारमा विजेता, फस्ट रनरअप र सेकेन्ड रनरअप छनोट हुने गरेका छन्। प्रादेशिक हिसावले सातजनासहित विजेता, फस्ट र सेकेन्ड रनरअप तीनजना गरी एकै पटक १० जनाले ताज र जिम्मेवारी पाउने गरेका छन्।

सौन्दर्य प्रतियोगिताप्रति युवापुस्तामा देखिएको रुचि र रहरमा मौलिक कला, भाषा, खानपान, गरगहना, रहनसहन, भेषभूषा एवं मौलिक संस्कृतिलाई फ्युजन गराउन सक्यो भने यसले एकातिर युवाको चाहनालाई सम्बोधन गर्छ भने अर्कोतर्फ संस्कृति संरक्षण र सांस्कृतिक चेतनालाई उर्वर बनाइदिन्छ। मिस मंगोल नेपालको अर्को लक्ष्य र उद्देश्य यो पनि हो।